बागेश्वरी एकेडमी स्कुलद्वारा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ३ – बागेश्वरी एकेडमी इङ्ग्लिस मिडियम स्कूलले कक्षा–११ मा विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोहलपुर किरणनालास्थित होटल सेन्टर प्लाजा मा शनिबार आयोजना गरिएको हो।

नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, मूल्य–मान्यता, अनुशासन र जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। शैक्षिक यात्रा प्रारम्भ गर्नु अघि विद्यार्थीहरूमा आत्मविश्वास, सकारात्मक सोच र कर्तव्यबोधको भावना विकास गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास विद्यालयले लिएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्रीधर गोराथोकीले गर्नुभएको थियो। उहाँले विद्यालयले विद्यार्थीहरू भित्रको प्रतिभा, क्षमता र अभिरुचिअनुसार शैक्षिक पद्धति अपनाउने गरेको उल्लेख गर्दै “शिक्षासँगै संस्कारको भावना” राखेर अध्ययन गराउने उद्देश्य राखिएको बताउनुभयो।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष किशन गुरुङले विद्यार्थी, अभिभावक र शिक्षकबीचको त्रिकोणात्मक सम्बन्धले गुणस्तरीय शिक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो। विद्यालयले चौतर्फी विकास हुने वातावरण निर्माणमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै उहाँले विद्यालयको पहुँच, अनुभव र दक्ष शिक्षकमार्फत विद्यार्थीलाई उत्कृष्ट मार्गदर्शन गरिने आश्वासन दिनुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा निमन्त्रित मोटिभेसनल स्पिकर रवि किरणले विद्यार्थीहरूलाई अनुशासन, नियमितता, सम्मान, लक्ष्यप्रति समर्पण र कर्तव्यबोधको साथ शिक्षा हासिल गर्न प्रेरणा दिनुभएको थियो। उहाँका प्रेरणादायी कुराले विद्यार्थीहरूमा नयाँ ऊर्जा थपिएको थियो।

कार्यक्रमप्रति विद्यार्थीहरू अत्यन्त उत्साहित देखिएका थिए। उनीहरूले विद्यालय र वातावरणप्रति आत्मीयता महसुस गरेका र नयाँ परिवेशमा छिट्टै घुलमिल हुन सक्ने विश्वास व्यक्त गरेका छन्। विद्यालयका शिक्षक गणेश बिष्टका अनुसार अभिमुखिकरण कार्यक्रमले विद्यार्थीहरूलाई आगामी अध्ययन यात्राको स्पष्ट दिशा र सकारात्मक सोच प्रदान गरेको छ।

कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष चिन्तामणि धिताल, सञ्चालक समिति सदस्य सन्दीप गुरुङ, अन्य शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत मन्तव्य चिन्तामणि धितालले दिनुभएको थियो भने कार्यक्रमको आकर्षक सञ्चालन गणेश बिष्टले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »