बाँके, कोहलपुर–१२ ।
बाँके जिल्लामा पहिलो पटक ज्ञानकुञ्ज ई.मि. स्कूल, कोहलपुर–१२ चप्परगौडीका विद्यार्थीहरूले सडकमै आएर सडक सुरक्षा चेकजाँच तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विस्तृत सचेतना कार्यक्रम भव्य तथा अनुकरणीय ढंगले सम्पन्न गरेका छन्। विद्यालयले प्रारम्भ गरेको यो अभियान स्थानीय तहमा सडक सुरक्षा क्षेत्रमा नयाँ उदाहरणका रूपमा हेरिएको छ।

कार्यक्रमको उद्देश्य विद्यालयका विद्यार्थीलाई मात्रै होइन, स्थानीय बासिन्दा, चालक तथा यात्रुहरूलाई समेत ट्राफिक नियमको महत्त्वबारे जागरूक बनाउनु रहेको थियो। विद्यार्थीहरूले सडकमा उभिएर हेलमेटको प्रयोग, सिटबेल्टको आवश्यकता, गति सीमिती पालन, मोबाइल प्रयोग नगर्ने, सवारी चेकजाँचमा सहयोग गर्ने जस्ता महत्वपूर्ण पक्षहरूबारे सर्वसाधारणलाई सचेत गराएका थिए।

यस अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर तथा अट्रा.प्र. पोष्ट चप्परगौडीसँग सक्रिय सहकार्य गरिएको थियो। ट्राफिक प्रहरीका अधिकारीहरूले विद्यार्थीहरूलाई व्यवहारिक प्रशिक्षण दिँदै सडकमा हुने सामान्य गल्तीहरू, दुर्घटना बढ्नुका कारणहरू तथा ती रोकथामका उपायहरूको विस्तृत जानकारी दिएका थिए।

ट्राफिक प्रहरी टोलीले विद्यार्थीहरूलाई प्रत्यक्ष सडकमा सवारी चेकजाँच प्रक्रियासमेत देखाई वास्तविक अवस्थाको अभ्यास गराएको थियो। विद्यार्थीहरू उत्साहित देखिनुका साथै स्थानीय बासिन्दाबाट समेत कार्यक्रमको प्रशंसा गरिएको थियो।

विद्यालयका शिक्षकहरूका अनुसार, पछिल्ला वर्षहरूमा कोहलपुर क्षेत्रका मुख्य सडकहरूमा बढ्दो सवारी चाप र दुर्घटना जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीमार्फत समुदायमा सकारात्मक सन्देश पुर्याउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो।
“सडक सुरक्षा सबैको जिम्मेवारी हो” भन्ने मूल सन्देशसहित विद्यार्थीहरूले समुदायमा सचेतना फैलाउन नेतृत्वदायी भूमिका खेलेका थिए।
कार्यक्रम ज्ञानकुञ्ज ई.मि. स्कूल, कोहलपुर–१२ चप्परगौडीले नै आयोजना गरेको हो। विद्यालयले आगामी दिनमा यस्ता सामुदायिक–शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।