कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कूलको ८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

कोहलपुर, चैत ७ – कोहलपुर नगरपालिका–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कूलले आफ्नो ८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा, कला र संस्कृतिको समन्वयमा आयोजना गरिएको उक्त उत्सवले विद्यार्थीहरूमा रहेको प्रतिभाको प्रदर्शनका साथै विद्यालयको समग्र प्रगतिलाई उजागर गरेको छ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र कार्कीले गरेका थिए भने कोहलपुर–१२ का वडाध्यक्ष प्रमुख अतिथि रूपमा उपस्थित रहे। त्यस्तै विशेष अतिथि कोहलपुर नगर शिक्षा साखा अधिकृत रबिलाल मिजार रहेका थिए भने कोहलपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर न्यौपाने, वडा नं. १२ की सदस्य पानसरा बाठा, क्रीसा बाँकेका अध्यक्ष बेगम चन्दलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानसहित गरिएको थियो। त्यसपछि विद्यालयका अध्यक्षद्वयले स्वागत मन्तव्य राख्दै विद्यालयको वार्षिक उपलब्धि, शैक्षिक प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए।

उत्सवमा विद्यार्थीहरूले नृत्य, गायन, नाटक, कविता वाचनजस्ता विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विभिन्न तहका विद्यार्थीहरूले नेपाली संस्कृति झल्किने पारम्परिक नृत्यदेखि आधुनिक नृत्यसम्मका प्रस्तुति दिएका थिए, जसले दर्शकदीर्घामा उत्साह थपेको थियो।

कार्यक्रमको अन्त्यतिर विद्यालयका शिक्षिकाहरूले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप रंगीन बनाएको थियो। विद्यार्थी अभिभावक, स्थानीय बासिन्दा तथा अतिथिहरूले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए।

विद्यालयले यस्तो कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा उजागर गर्न सकिने विश्वास लिएको बताइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीले विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तर सुधार गरिरहेको र भविष्यमा थप प्राविधिक तथा सिर्जनात्मक शिक्षामा जोड दिइने जानकारी दिए। प्रमुख अतिथिले पनि विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोगको आश्वासन दिएका थिए।

कार्यक्रम अन्त्यमा धन्यवाद ज्ञापन गर्दै विद्यालय परिवारले सहभागी सबैलाई आभार व्यक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »