बाँके, जेठ २२ – नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका युवा नेता सुमन घिमिरे सचिव पदको उम्मेदवारको रूपमा व्यापक रूपमा चर्चामा आएका छन्।
३२ वर्षे उमेर हदमुनि नयाँ पुस्ताका प्रतिनिधि खोजी भइरहेका बेला घिमिरे युवा पुस्ताको सशक्त प्रतिनिधित्वका साथ बलियो उम्मेदवारका रूपमा अगाडि आएका हुन्। बाँकेको कोहलपुर निवासी घिमिरे हाल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज छन्। लुम्बिनीको जटिल राजनीतिक परिप्रेक्ष्यमा संगठनलाई मजबुत बनाउने उनको भूमिकाले सचिव पदका लागि उनको दावेदारीलाई थप बलियो बनाएको छ।
घिमिरेले २०६८ सालमा अनेरास्ववियु मावि कमिटी हुँदै विद्यार्थी राजनीतिमा पाइला चालेका थिए। त्यसपछि २०७१ सालमा क्षेत्रीय अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै दुई कार्यकालसम्म केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन्।
जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको नेतृत्वमा अनेरास्ववियु बाँकेको टोली करिब १५ दिनसम्म पुनर्निर्माणमा खटिएको थियो। हालै सम्पन्न स्ववियु निर्वाचनमा बाँके जिल्लाका तीन क्याम्पसमा सम्पूर्ण प्यानल बहुमतसहित जिताउन समेत उनको नेतृत्व निर्णायक देखिएको केन्द्रीय नेताहरू बताउँछन्।
बाँके इन्चार्जको रूपमा उनले हालसम्म जिल्लामा १०० भन्दा बढी कार्यक्रम सञ्चालन गरी संगठनलाई सक्रिय बनाएका छन्।
२४औं महाधिवेशन जेठ २५ गतेदेखि कीर्तिपुर, काठमाडौंमा सुरु हुँदैछ। उद्घाटन कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ। महाधिवेशनबाट ९ पदाधिकारी र १५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी गठन गरिनेछ।
सचिव पदमा घिमिरेको उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा नभई लुम्बिनीको युवा नेतृत्वको प्रतिनिधित्वको रूपमा हेरिएको छ। उनले समस्त प्रतिनिधिहरूको साथ, समर्थन र विश्वासको अपेक्षा व्यक्त गरेका छन्।