राष्ट्रिय बाणिज्य बैंक, कोहलपुर शाखाले आफ्नो ६०औं वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकालाई २० थान ट्रि गार्ड सहयोग गरेको छ। शाखा प्रमुख चिरञ्जीवी गिरीका अनुसार, यो सहयोग कोहलपुर नगरपालिकाको हरित अभियानलाई थप सशक्त बनाउनका लागि गरिएको हो।
उक्त ट्रि गार्ड कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई शाखा कार्यालय कोहलपुरका प्रबन्धक चिरञ्जीवी गिरीले औपचारिक रूपमा हस्तान्तरण गरे। यस अवसरमा नगर प्रमुख आचार्यले बैंकले वातावरणीय संरक्षणमा देखाएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै, हरित अभियानलाई अघि बढाउन यस्तो सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए।

यसका अतिरिक्त, कोहलपुर शाखाले कार्यालयमा कर्मचारी र ग्राहकको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा शाखा प्रमुख चिरञ्जीवी गिरीको अध्यक्षतामा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको थियो, जसमा कर्जा तथा वित्तीय कारोबारमा उत्कृष्ट प्रदर्शन गरेका ६ जना ग्राहकहरूलाई सम्मान गरिएको छ।
बैंकको यस प्रकारको सामाजिक उत्तरदायित्वले वातावरणीय संरक्षण र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। शाखाले आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।