कोहलपुर, बाँके — सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कोहलपुर–११ नयाँ बसपार्कमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा तथा यातायात व्यवस्था कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बाँके क्षेत्रका गाडी, बसका चालक तथा सहचालकहरूलाई वर्षायाममा हुने यान्त्रिक तथा मनसुनजन्य दुर्घटनाबाट बच्ने उपायहरूबारे जानकारी दिइएको थियो। साथै, करिब दर्जनौं सवारी साधनहरूको यान्त्रिक जाँच समेत गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुष्कर पन्तका अनुसार वर्षायाममा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रम अत्यन्त उपयोगी हुन्छन्।
उनले भने, “सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरी मात्रको भूमिका पर्याप्त हुँदैन। यसका लागि चालक, सहचालक, सवारीधनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयास आवश्यक छ।”
कार्यक्रममा वरिष्ठ सई प्रवीण आचार्यले गाडीको नियमित मर्मत र चालकको सतर्कताले सवारी सुरक्षामा ठूला दुर्घटनाबाट जोगिन सकिने बताए।
त्यस्तै, इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र सडक सुरक्षामा दिगो सुधार सम्भव हुने धारणा व्यक्त गरिन्।
बागेश्वरी यातायात प्रा.लि. कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरू दुर्घटना न्यूनीकरणमा प्रभावकारी रहेको बताउँदै निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी चालक तथा सहचालकहरूलाई सचेतनामूलक सामग्रीहरू समेत वितरण गरिएको थियो।