नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दन्त शिक्षा र उपचार सेवा सुरु ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले दन्त शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। अस्पतालले गत श्रावण ४ गतेदेखि डेन्टल अस्पताल सञ्चालनमा ल्याएको हो, जसले दन्त शिक्षा र उपचार सेवासँगै समाजमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य राखेको छ।

अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले पुष २५ गतेदेखि डेन्टल कलेजमा अध्ययन/अध्यापन सुरु भएको जानकारी दिएको हो। काठमाडौँ विश्वविद्यालयबाट स्वीकृति प्राप्त यस अस्पतालले बि.डि.एस. (बैचलर अफ डेन्टल सर्जरी), बि.एम.एल.टी. (बैचलर अफ मेडिकल ल्याबोरेटरी टेक्नोलोजी), र बि.एम.आई.टी. (बैचलर अफ मेडिकल इमेजिङ टेक्नोलोजी) कार्यक्रम सुरु गरेको छ। पहिलो वर्षमा बि.डि.एस.मा १५ जना र बि.एम.एल.टी. तथा बि.एम.आई.टी.मा ५/५ जना विद्यार्थीको कोटा स्वीकृत भएको अस्पतालले जानकारी दियो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार विएनका अनुसार विश्वविद्यालयको प्रावधानअनुसार बि.डि.एस. कार्यक्रमतर्फ अधिकतम ४० जना र अन्य दुई कार्यक्रमतर्फ २०/२० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ। तर, आवश्यक पूर्वाधारको अभावमा हाललाई २५ जना विद्यार्थीलाई भर्ना गर्न सकिएको छ।

डेन्टल अस्पतालले दन्त उपचारका लागि नौवटा विभाग स्थापना गरेको छ। यसमा ओरल मेडिकल एण्ड रेडियोलोजी, मुख तथा अनुहारको शल्यक्रिया, प्रोस्थोडोन्टिक्स, बाँगो दाँत मिलाउने, गिजासम्बन्धी उपचार, र बच्चाहरूको दाँतसम्बन्धी विशेष सेवाहरू उपलब्ध छन्। मुख तथा अनुहारको क्यान्सर, हड्डी मिलाउने, कृत्रिम जरा राखेर दाँत हाल्ने, र अनुहारमा लागेको चोटको उपचार गर्नेसम्मका सेवाहरू उच्च विशेषज्ञद्वारा प्रदान गरिन्छ।

त्यसैगरी दाँत सम्बन्धी सबै प्रकारका रोग पत्ता लगाउने बिशेषज्ञ सेवा, दाँतको जरा सम्बन्धि सम्पूर्ण उपचार सेवा स्वास्थ्य शिविर र जन समुदाय स्तरमा दाँत सम्बन्धी जनचेतना जस्ता डिपार्टमेन्टहरु संचालनमा आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सम्पर्क अधिकृत रामकृष्ण हमालले जानकारी दिए ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी प्रा.लि.द्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल २०५३ सालदेखि सञ्चालनमा रहेको छ। संस्थाले विगत तीन दशकदेखि कोहलपुर र आसपासका क्षेत्रका जनताका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

डेन्टल कार्यक्रम सुरु गरेसँगै अस्पतालले यस क्षेत्रका नागरिकलाई दन्त स्वास्थ्यका लागि उत्कृष्ट सेवा उपलब्ध गराउने र दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने लक्ष्य राखेको छ। यो पहलले समाजमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनुका साथै चिकित्सा शिक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »