नेपालगञ्ज, भदौ १ – नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको उत्पादनमुखी व्यवसायबारे छलफल कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द विप्लवले उत्पादनलाई आगामी दिनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विप्लवले राजनीतिक क्रान्ति भए पनि अझै आर्थिक क्रान्ति हुन नसकेको उल्लेख गर्दै भने,
“हामी अहिले कृषि उत्पादनमा केन्द्रित छौँ। बिस्तारै उद्योग र व्यापारमा पनि लाग्नेछौँ।”
उनले दलहरूको चन्दा संकलनको प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राख्दै आफ्नो पार्टीलाई चन्दामुक्त घोषित गरे। साथै, नेपालगञ्ज–दिल्ली हवाई उडानलाई उनले सकारात्मक पहल भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा संघका महासचिव भीमबहादुर रानाभाटको सञ्चालनमा पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्यलगायतले समेत उत्पादनलाई प्राथमिकतामा दिनुपर्ने धारणा राखे।
व्यवसायीहरूले कृषिलाई व्यावसायिक बनाउन, बजार व्यवस्थापनमा राज्यको ध्यान पुर्याउनुपर्ने माग गर्दै राजनीतिक दलहरूले आफ्ना गुनासो नसुन्ने गरेको आरोपसमेत लगाए।
विप्लवले ऐतिहासिक जनयुद्धलाई स्मरण गर्दै निष्कर्षमा भने,
“क्रान्तिका लागि आर्थिक आधार अपरिहार्य छ। अब उत्पादनलाई क्रान्तिसँग जोड्नैपर्छ।”