नेपालगञ्जमा पहिलोपटक ‘ट्राफिक लाइट’को नियम लागू

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ। नेपालगञ्जमा ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न पाँचवटा मुख्य चोकहरूमा ट्राफिक लाइटको नियम लागू गरिएको छ। धम्बोझी चोकमा गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारीसाधनचालक र यात्रुहरूले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए

यहाँ ट्राफिक लाइटको नियम लागू भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवानाभन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाइरहेका छौँ,’ उनले भने, ‘विशेष गरी महिला र ग्रामीण भेगतिरबाट आउने सवारीसाधनचालकसँगै यात्रुलाई ट्राफिक लाइटको नियम बुझाउन अलि गाह्रो भइरहेको छ।’ उनका अनुसार तीन–चारपटकसम्म सम्झाइबुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठजनालाई जरिवानास्वरूप चिट काटेर कारबाही गरिएको छ।

इ–सेवा, खल्ती, इ-चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठजनाबाट रु. चार हजारसम्मको राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका प्रमुख आचार्यले जानकारी दिए। नेपालगन्जमा ट्राफिक लाइटको नियम लागू भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरू केन्द्रित रहेको आचार्यको भनाइ थियो।

रातो बत्ती बल्दा जहिले पनि देब्रे लाइन भएर जाने सवारीसाधनचालक र यात्रुहरू रोकिनुपर्दैन, भनेर हामीले अलमलमा परेकालाई सम्झाएर बाटो काट्न सिकाउँदै छौँ,’ उनले भने, ‘यहाँका सवारीसाधनचालक र यात्रुलाई जरिवानाभन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डिउटीकै समयमा जानकारी दिने प्रयास गरिरहेका छौँ।’

प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि बिपी चोकमा हुने दुर्घटनामा कमी आएको छ। पहिला हप्तामा आठ-दशवटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए। उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »