कोहलपुर नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा अति विपन्न, एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘स्वच्छ चुलो’ वितरण गरेको छ। यो अभियानले नगर क्षेत्रका कमजोर आर्थिक अवस्था भएका परिवारलाई सुरक्षित, वातावरणमैत्री र दाउरा बचत हुने चुलो प्रयोगमा प्रोत्साहित गर्ने लक्ष्य लिएको छ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार ४५० चुलो वितरण गर्ने योजना छ। हालसम्म १३ वटै वडामा ३०/३० को दरले ३० जना सेवाग्राहीलाई चुलो प्रदान गरिसकिएको छ भने बाँकी वडा नं. ८ र ९ मा पनि शीघ्र वितरण गरिने नगरपालिकाले जनाएको छ।

यस योजनाअन्तर्गत ५,९८९ रुपैयाँ मूल्य पर्ने ‘स्वच्छ चुलो’मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८०% र कोहलपुर नगरपालिकाले १५% अनुदान प्रदान गरेको हो। सेवाग्राहीहरूले मात्र ५% अर्थात् ३०० रुपैयाँ तिरेर चुलो प्राप्त गरेका छन्।

शहरीकरणको प्रभावसँगै कोहलपुरमा दाउराको अभाव बढ्दै गएको छ। त्यसैले कम दाउरा वा विद्युतको सहायताले समेत चलाउन सकिने, धुवाँ कम निस्कने, स्वास्थ्यमैत्री र वातावरणमैत्री ‘स्वच्छ चुलो’ वितरणलाई महत्वपूर्ण कदमको रूपमा लिइएको छ। यो चुलोले मात्र इन्धनको खपत घटाउँदैन, घरभित्रको हावाको गुणस्तर सुधार्ने र परिवारको स्वास्थ्यमा सकारात्मक असर पार्ने अपेक्षा पनि गरिएको छ।
वडा नं. ११ मा भएको वितरण कार्यक्रममा कार्यबाहक नगर प्रमुख संगीत सुबेदीको प्रमुख आतिथ्य, वडा अध्यक्ष कल्पना शर्माको अध्यक्षता र नगरका जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका बक्ताहरूले वैकल्पिक ऊर्जा प्रवर्द्धनका यस्ता पहलले वातावरण संरक्षण र जनस्वास्थ्य दुवैमा योगदान पुर्याउनेमा जोड दिएका थिए।
नगरपालिकाले बाँकी वडामा पनि शीघ्र चुलो वितरण पूरा गर्ने र आगामी वर्ष थप लक्षित परिवारहरूलाई यस योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरेको छ।