कोहलपुरमा स्वर्गीय बिरेन्द्र शाही स्मृति क्रीकेट प्रतियोगिता हुने ।
कोहलपुर, बाँके – युनाइटेड भिजन क्लब, कोहलपुर–२ बाँकेको आयोजनामा स्वर्गीय बिरेन्द्र शाही स्मृति क्रीकेट प्रतियोगिताको तेस्रो संस्करण फागुन १८ देखि फागुन २८ सम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता देशभरका १८ टोलीको सहभागितामा खुल्ला क्लबस्तरीय २०-२० क्रीकेटका रूपमा आयोजना हुनेछ।
कार्यक्रम संयोजक नविनराज बुढाका अनुसार, प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कार व्यवस्था गरिएको छ:
प्रथम पुरस्कार : रु १,५०,००० दोस्रो : रु ७१,००० उत्कृष्ट बलर: रु ५,००० उत्कृष्ट ब्याटर: रु ५,०००
म्यान अफ द सिरिज: रु १०,०००
क्रीकेटको विकासका लागि नीतिगत परिवर्तनको आवश्यकता
राष्ट्रिय क्रीकेटका चिफ सेलेक्टर एल.बी. क्षत्रीले कार्यक्रममा बोल्दै, “खेलकुद केवल स्वास्थ्यका लागि नभई राष्ट्रिय जनशक्ति निर्माणका लागि पनि आवश्यक छ। अब देशले खेलकुदको नीति परिवर्तन गर्नु जरूरी छ। कोहलपुरमा अन्तर्राष्ट्रिय क्रीकेट मैदानलाई चलायमान बनाउन स्थानीयको सक्रियता र सरकारी स्वामित्व अपरिहार्य छ,” भनी धारणा व्यक्त गरेका छ्न।
युनाइटेड भिजन क्लबका अध्यक्ष गम्भीर जङ्ग मल्लका अनुसार, यो प्रतियोगिता स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्ने र कोहलपुरलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। “हामी कोहलपुरमा खेलकुदको स्तरलाई उचाइमा पुर्याउन प्रतिबद्ध छौँ। प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्दै राष्ट्रिय स्तरमा कोहलपुरको परिचय गराउनेछ,” उनले बताए।
कोहलपुरमा क्रीकेटको भविष्य
प्रतियोगिता आयोजना गर्न कोहलपुरवासी र प्रायोजकहरूको साथ महत्वपूर्ण रहेको आयोजकले उल्लेख गरेका छन्। यो प्रतियोगिताले कोहलपुरको खेलकुद संरचनालाई बलियो बनाउने र खेलाडीलाई थप प्रेरित गर्ने अपेक्षा गरिएको छ।