बाँके — अब्यवहारिक कर नीतिको विरोधमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा बाँकेको कोहलपुरमा विरोध प्रदर्शन गरिएको छ।

कोहलपुर बजारको मुख्य chowk हुँदै व्यवसायीहरू नाराबाजीसहित विरोध ¥यालीमा उत्रिएका थिए। उनीहरूले “करको नाममा ठगी बन्द गर”, “व्यवसायीको शोषण होइन संरक्षण चाहिन्छ”, “अब्यवहारिक कर नीति खारेज गर” भन्ने नारासहित प्रदर्शन गरेका थिए।

व्यवसायीहरूले सरकारले लाद्दै आएको कर संरचना अनुचित, बोझिलो र व्यवसाय विनाश गर्ने खालको भएको आरोप लगाएका छन्। उनीहरूले आफ्नो माग सुनुवाइ नभएसम्म सुनचाँदी तथा गहना व्यवसाय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्।
बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका पदाधिकारीहरूले सरकारलाई तत्काल कर नीतिमा पुनरावलोकन गर्न आग्रह गर्दै भने, “हामी कर दिन तयार छौं, तर तर्कसंगत र व्यवहारिक आधारमा। अहिलेको कर नीति हामीमाथिको अन्याय हो।”
उनीहरूले कर प्रणालीको पुनरावलोकन, व्यवसायीहरूसँग परामर्श र समन्वयमा नीति निर्माणको माग राखेका छन्। व्यवसायीहरूको आन्दोलनका कारण कोहलपुर क्षेत्रमा अधिकांश सुनचाँदी पसलहरू बन्द भएका छन्।
संघहरूले सरकारलाई चाँडोभन्दा चाँडो समाधानका लागि वार्तामा आउन चेतावनी दिँदै आफ्ना आन्दोलनका कार्यक्रमलाई चरणबद्ध रूपमा अघि बढाइने बताएका छन्।