कोहलपुर, श्रावण २३ –
शैक्षिक सत्र २०८१ को SEE परीक्षामा बाँके जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र विद्यार्थीहरू, साथै अनेरास्ववियु, नेपाल राष्ट्रिय शिक्षक संगठन तथा नेपाल बौद्धिक परिषदको केन्द्रिय कमिटिमा प्रतिनिधित्व गर्ने बाँके जिल्लाका व्यक्तित्वहरूलाई नेकपा (एमाले) शिक्षा तथा मानव श्रोत विभाग, बाँकेद्वारा आयोजित एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरिएको छ।

शनिबार सम्पन्न सो कार्यक्रममा शिक्षा तथा मानव श्रोत विभागका संयोजक सुर्य रोकायकको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके इञ्चार्ज शान्ती ढकाल, केन्द्रिय लेखा आयोग सदस्य विजया धिताल, अनुशासन आयोग सदस्य देवराज भार, जिल्ला अध्यक्ष निरक गुरुङ, जिल्ला सचिव बलराम भट्टराईलगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य पेशागत महासंघ बाँकेका अध्यक्ष दुर्गा डागीले राख्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङले शिक्षा क्षेत्र पहिलेको तुलनामा निकै सहज बनेको उल्लेख गर्दै अबको शिक्षालाई व्यवहारिक सिपसँग जोड्नुपर्ने खाँचो औंल्याउनु भयो। सरकारले कक्षा १ देखि १० सम्मको पाठ्यक्रमसँगै विद्यार्थीहरूलाई सिपमूलक शिक्षामा समेत जोड दिने नीति अघि बढाएको जानकारी दिनुभयो।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अनुशासन आयोग अध्यक्ष सुमन घिमिरे, केन्द्रिय सदस्य वर्षा मल्ल, नीति तथा अनुसन्धान आयोग सदस्य साक्षी शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय कमिटीमा निर्वाचित प्रतिनिधिहरू तथा नेपाल बौद्धिक परिषदको केन्द्रिय कमिटीमा निर्वाचित प्रतिनिधिहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

त्यस्तै, २०८१ को SEE परीक्षामा निजी विद्यालयतर्फ बाँके जिल्लामा प्रथम स्थान प्राप्त गर्ने गोर्खा स्कुल, कोहलपुर र सामुदायिक विद्यालयतर्फ प्रथम स्थान प्राप्त गर्ने श्री आदर्श माध्यमिक विद्यालय, राझालाई समेत बधाईसहित सम्मान गरिएको थियो।

कार्यक्रमको समापन गर्दै संयोजक तथा अध्यक्ष सुर्य रोकायले शिक्षा र विचारको क्षेत्रमा बाँके जिल्लाबाट राष्ट्रिय तहमा योगदान पुर्याउने सबै प्रतिनिधिहरूलाई धन्यवाद दिँदै बधाई ज्ञापन गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले आगामी पुस्तालाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले बताएका छन्।