एनएक्स एजुकेशनल कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नेपालगञ्जकी प्रेरणा गिरी नियुक्त

नेपालगञ्ज, साउन २० – एनएक्स एजुकेशनल कन्सल्टेन्सी नेपालगञ्जले नेपाली चलचित्र क्षेत्रकी उदयमान कलाकार तथा कार्यक्रम सञ्चालिका प्रेरणा गिरीलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ।

कन्सल्टेन्सीले मंगलबार पत्रकार सम्मेलन गरी गिरीलाई औपचारिक रूपमा ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको जानकारी दिएको हो। कार्यक्रममा कन्सल्टेन्सीका सिइओ नवराज केसीले साइनिङ सेरोमनी मार्फत सम्झौता पत्र हस्तान्तरण गरेका थिए।

ब्राण्ड एम्बेसडरमा नियुक्त भएपछि गिरीले संस्थाको हितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउँदै सबैको सहयोगको अपेक्षा गरेकी छिन्।

नेपालगञ्जमै जन्मिएकी प्रेरणा गिरीले सन् २०१९ मा नेपालगञ्जमा आयोजित ब्यूटी पेजेन्टमा सहभागिता जनाउँदै ‘सेकेण्ड रनर अप’ को उपाधि जितेकी थिइन्। त्यसपछि उनले मोडलिङतर्फ अघि बढ्दै विभिन्न फोटोशुट तथा प्रतियोगितामा सहभागी हुँदै ‘बेष्ट फोटोजेनिक’ अवार्ड समेत हात पारेकी थिइन्।

विसं २०७८ देखि उनले विभिन्न मेला–महोत्सव, कन्सर्ट, सौन्दर्य प्रतियोगिता, खेलकुद, सांस्कृतिक तथा कर्पोरेट कार्यक्रमहरूमा उद्घोषकको रूपमा सक्रिय रूपमा काम गर्दै आइरहेकी छन्। विशेषगरी सुदूरपश्चिम क्षेत्रका कार्यक्रमहरूमा उनको उपस्थिति उल्लेखनीय रहँदै आएको छ।

चलचित्र क्षेत्रमा पनि गिरीको यात्रा सुरु भइसकेको छ। उनको डेब्यू फिल्म ‘रावण’ (२०७८) मा उनले नायिका पूजा शर्मा र अभिनेता पल शाहको बहिनीको भूमिकामा अभिनय गरेकी थिइन्। दोस्रो फिल्म ‘काली’ मा भने उनी अभिनेता नजीर हुसेन र वर्षा राउतको नर्सको भूमिकामा देखिनेछिन्। उक्त फिल्म २०८२ सालको फागुन १ गते प्रदर्शनमा आउँदैछ।

एक कलाकार बन्ने सपना बोकेर अघि बढेकी नेपालगञ्जकी प्रेरणा अहिले उदाउँदो अभिनेत्री, सफल कार्यक्रम सञ्चालिका तथा मोडलका रूपमा आफ्नो पहिचान बनाउँदै गएकी छन्।

एनएक्स एजुकेशनल कन्सल्टेन्सीले जापानमा अध्ययनको लक्ष्य राख्ने विद्यार्थीहरूका लागि विशेष सेवा दिँदै आएको छ। कन्सल्टेन्सीले टोकियो, ओसाका, हिरोशिमा, फुकुओका लगायतका जापानी शहरका प्रतिष्ठित ‘ए’ ग्रेड कलेजहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको जानकारी सिइओ केसीले दिएका छन्।

पछिल्लो ६ वर्षदेखि नेपालगञ्जमै प्रधान कार्यालय राखेर जापान अध्ययनका लागि सयौं विद्यार्थीलाई सफलतापूर्वक पठाउँदै आएको एनएक्स कन्सल्टेन्सीले अब काठमाडौं जानु नपरी नेपालगञ्जबाटै आवेदन दिने सुविधा सुरु गरेसँगै विद्यार्थीहरूलाई थप सहजता भएको सिइओ केसीले बताएका छन्।

गिरी एक वर्षको अवधि रहेको सम्झौताअन्तर्गत ब्राण्ड एम्बेसडरका रूपमा कन्सल्टेन्सीको प्रचार–प्रसार, विद्यार्थीमाझ सकारात्मक सन्देश प्रवाह र अन्तरक्रियामा सहभागी हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »