अवैध नेपाली लिएर अमेरिकी जहाज काठमाडौं आउँदै

फाइल तस्बिर

काठमाडौं : डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ। अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए। अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्। ‘हामीलाई प्राप्त प्रारम्भिक सूचीअनुसार अमेरिकाले ११ जना नेपालीलाई चार्टर विमानमार्फत नेपाल फर्काउन लागेहो हो। यो संख्या थपघट पनि हुनसक्छ,’ नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने।

झन्डै एक महिना अगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बताएको छ।

पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ। जनवरी २० पछि उक्त संख्यमा बढोत्तरी भएको स्रोतको दाबी छ। अमेरिकाले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा गरी २९ जनालाई निष्कासन गरेको हो। ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल फर्काइएका हुन्।

इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्। त्यसो त विद्यार्थी भिसामा गएर कानुन विपरीत काम गर्ने नेपालीहरूलाई पनि ट्रम्प प्रशासनले निशाना साँधिरहेका छन्। अमेरिकाबाट नेपाल फर्काइएकाहरूमाथि अवैध प्रवेश, गैरकानुनी रूपमा बसोबास र अध्यागमन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »