बर्दिया, २०८२ वैशाख ६ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बर्दिया जिल्ला कमिटीको आयोजनामा नव-निर्वाचित स्ववियु टिम, निवर्तमान केन्द्रीय नेताहरू तथा स्ववियु अध्यक्षहरूलाई सम्मान, बधाई र प्रशिक्षण प्रदान गर्ने विशेष कार्यक्रम नेकपा एमाले जिल्ला पार्टी कार्यालय गुलरियामा भव्य र अनुशासित रूपमा सम्पन्न भएको छ।

कार्यक्रम अनेरास्ववियु बर्दिया जिल्ला अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज कमरेड लक्ष्मणराज ज्ञवाली रहनु भएको थियो भने नेकपा एमाले जिल्ला अध्यक्ष कमरेड शालिकराम अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनु भयो।

सो अवसरमा नेकपा एमाले बर्दिया जिल्ला उपाध्यक्ष दुर्गा बहादुर ओली, पार्टी जिल्ला सदस्य तथा अनेरास्ववियुका निवर्तमान केन्द्रीय उपाध्यक्ष झपिन्द कुमार खत्री, पार्टी विद्यार्थी फाँट इञ्चार्ज महेन्द्र पङ्गेनी लगायतका नेताहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नव-निर्वाचित स्ववियु प्रतिनिधिहरूलाई खादा, प्रमाणपत्र तथा माला सहित सम्मान गरिनुका साथै नेतृत्वको जिम्मेवारीप्रति थप जिम्मेवार र संकल्पबद्ध हुन प्रेरणा दिइएको थियो। वक्ताहरूले विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, अनेरास्ववियुको गौरवपूर्ण इतिहास, समसामयिक चुनौती र अवसरहरूबारे प्रशिक्षणमूलक मन्तव्य राख्दै संगठनप्रति इमानदारी, दृढता र प्रतिबद्धताको आवश्यकता औंल्याएका थिए।

प्रमुख अतिथि ज्ञवालीले युवा पुस्ता नै परिवर्तनका संवाहक भएको उल्लेख गर्दै राजनीतिक चेतना, संगठनात्मक अनुशासन र वैचारिक स्पष्टतामार्फत नै अनेरास्ववियु अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टी र विद्यार्थी संगठनबीचको सहकार्यले जनताको पक्षमा क्रान्तिकारी भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो।

कार्यक्रमले युवा नेताहरूमा आत्मविश्वास, प्रेरणा र संगठनप्रतिको निष्ठा अझ प्रगाढ बनाउने विश्वास लिइएको छ। सहभागीहरूले यस्तो कार्यक्रमले नेतृत्व विकास, अनुभव साटासाट र भावी कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रम समापनसँगै नव-निर्वाचित टिमले संगठनप्रति इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै, एकीकृत र सक्षम विद्यार्थी आन्दोलन निर्माणमा जुट्ने प्रण गरेका थिए।