पुर्खाको पहिचान जोगाउन दिपज्योती माबी बैजनाथले गर्यो सांस्कृतिक भेषभूषा प्रदर्शन कार्यक्रम ।

बाँके — बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित दीपज्योति माध्यमिक विद्यालयमा शुक्रबार भव्यरूपमा सांस्कृतिक तथा भेषभूषा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। विक्रम सम्वत २०६० सालमा स्थापना भएको यस विद्यालयले पहिलोपटक आफ्नै परिसरमा यस्तो सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आफ्नो जातीय, क्षेत्रीय तथा सांस्कृतिक भेषभूषा, नृत्य, र परम्परागत प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले नेपालको विविधता झल्काउने शैलीमा विभिन्न जातजाति र समुदायका नृत्य, गीत र संस्कृतिलाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।


कार्यक्रमको उद्देश्य पुर्खाले दिएको संस्कार, संस्कृति र भेषभूषा जोगाउने रहेको विद्यालयका प्रधानाध्यापक वसुन्धरा पाण्डेले बताउनुभयो। उहाँका अनुसार, “हाम्रा विद्यार्थीहरूले आफ्नो पहिचान र संस्कृतिलाई बिर्सन थालेका छन्। त्यसलाई बचाउन  र अभिभावकहरूमा पनि चेतना जगाउन यो कार्यक्रम आयोजना गरिएको हो।”
प्रधानाध्यापक पाण्डेले थपिन् — “विद्यालयमा विभिन्न जात, धर्म र सम्प्रदायका विद्यार्थी छन्। उनीहरूबीच आपसी समझदारी र एकता कायम गर्दै आफ्नो मौलिकता जोगाउने सन्देश दिन यो कार्यक्रम सफल भएको छ।”


कार्यक्रममा विद्यार्थीहरूले आफ्नो समुदायको नृत्य, भेषभूषा, र संस्कृति झल्काउने प्रस्तुति दिएका थिए।
कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले विगतमा पनि खेलकुद, वादविवाद प्रतियोगिता, तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा गाउँपालिका स्तरमा उत्कृष्ट नतिजा दिँदै आएको छ।
शुक्रबारी नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत गरिएको आजको कार्यक्रममा विद्यार्थीहरूको उत्साह उल्लेखनीय थियो। विद्यालयले यस किसिमका कार्यक्रमहरूले विद्यार्थीमा राष्ट्रियता, आत्मपहिचान र सांस्कृतिक चेतना अभिवृद्धि हुने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »