कोहलपुर भ्यू टावरको भित्तामा रंगीचंगी चित्र: नगर सौन्दर्यकरणमा नयाँ प्रयास

कोहलपुर, बाँके —
कोहलपुर नगरको गौरवका रूपमा रहेको ‘कोहलपुर भ्यू टावर’का भित्तामा रंगीचंगी चित्र कोर्ने काम तीव्र गतिमा अगाडि बढेको छ। नगर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत भित्ताहरूमा नेपालका राष्ट्रिय विभूतिहरू, चिन्हहरू, धार्मिक तथा सांस्कृतिक दृश्यहरू र वन्यजन्तुजस्ता चित्रहरू निर्माण भइ रहेका छन्।

यो कार्य नेपालगन्जका अनुभवी चित्रकार राजेश परियारले अगुवाइमा भइरहेको हो। चित्रकला क्षेत्रमा ३५ वर्षको अनुभव भएका परियारले स्थानीय स्तरमै काम गर्न पाउँदा खुसी लागेको बताए। उनीसँगै एक जना अर्का चित्रकारसमेत खटिएका छन्। दुबै जनाले आगामी दुई हप्ताभित्र भ्यू टावरलाई आकर्षक बनाउने योजना बनाएका छन्।

कोहलपुर नगर विकास समितिको प्रस्ताव र अगुवाइमा झन्डै ८ लाख रुपैयाँको लागतमा १८ सय स्क्वायर फिट क्षेत्रफलमा ६ दर्जनभन्दा बढी चित्रहरू निर्माण गरिने भएको हो। नगर विकास समितिका इन्जिनियर अम्मरबहादुर बुढाथोकीका अनुसार नेपालगन्जबाट चित्रकारहरू बोलाएर यो काम थालिएको हो।

सन् २०८० माघमा सार्वजनिक अवलोकनका लागि खुलेको भ्यू टावर ५ करोड ५३ लाख लागतमा निर्माण गरिएको थियो। प्रारम्भमा ७५ रुपैयाँ टिकटमा हेर्न सकिने व्यवस्था गरिएको भए पनि हाल टावर प्रयोगविहीन बनेको छ। नगर सरकारको ठेक्का प्रयास असफल भएपछि आफैंले सञ्चालन गर्ने योजना बनाइएको भए पनि अझै अन्योल कायमै छ।

त्यसैबीच, नगर विकास समितिले भ्यू टावरको चित्रकलासँगै मुख्य सडकहरूमा ट्राफिक लाइट जडान र जेब्रा क्रसिङ निर्माण योजना पनि अघि सारेको छ। न्यूरोडदेखि दश विगाहा, हरियाली मार्गदेखि कृषि चोक, र एनटिभी रोडसम्म जेब्रा क्रसिङ बनाउने तयारी भएको इन्जिनियर बुढाथोकीले जानकारी दिए।

एक स्थानीयवासीले भने, “नगर विकास समितिको यो प्रयास स्वागतयोग्य छ, तर भ्यू टावर जस्तो गौरवमय संरचना सञ्चालनमा ल्याउनेतर्फ पनि स्थानीय सरकार गम्भीर हुनुपर्छ।”

चित्रकार परियारका अनुसार उनले सानैदेखि चित्रकलामा रुचि राख्थे। धनगढीबाट सुरु भएको उनको यात्रामा भारतसम्म पुगेर सीप बढाएका उनले पछिल्लो समय नेपालमै व्यवसायिक रूपमा चित्रकलालाई अघि बढाइरहेका छन्। “यो पेसा गर्ने थोरै भएकाले माग पनि धेरै छ, र आम्दानी पनि राम्रै हुन्छ,” उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »