धानबाली सुक्दै, किसान आकाश ताक्दै — बाँकेमा खडेरीको मार

समयमै वर्षा नहुँदा बाँकेका किसान दिनभर आकाश हेर्दै आशामा बस्न बाध्य भएका छन्। खडेरी र पानीको अभावले जिल्लाभरि धानबाली संकटमा पर्न थालेका छन्। कोही खेतमा रोपाइँ गर्न पाएका छैनन् भने, कतै रोपिएका धान सुक्न थालेका छन्।

जिल्लामा सञ्चालित सिक्टा सिँचाइ आयोजना केही क्षेत्रमा उपयोगी भए पनि, अधिकांश भू–भाग अझै वर्षा पानीमै निर्भर रहेको देखिन्छ। नरैनापुर, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकाका किसानहरू सबैभन्दा बढी प्रभावित छन्।

“अहिलेसम्म पनि अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन,”
भन्छन् कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे।
“जहाँ रोपिएको छ, त्यहाँ पनि पानीको कमीले धानबाली सुक्न थालेका छन्।”

कोहलपुर–४ निवासी किसान बद्री विशाल थारुले ४५ कट्ठा जमिनमा धान खेती गरे पनि साउन महिनामा वर्षा नपर्दा खेत चिराचिरा परेको गुनासो गर्नुहुन्छ।
“गह्रा भरिने पानी नै नपरेपछि खेत सुक्दै गइरहेको छ। उत्पादन घट्ने चिन्ता छ,” उहाँ भन्छन्।

खेतमा पानी नपरेर माटो चिराचिरा फाटेको, धुलो उड्न थालेको, र कतिपय स्थानमा मात्र खाल्टोको पानी वा बोरिङ सहाराले रोपाइँ सम्भव भएको अवस्था छ। तर यो टिकाउ समाधान होइन, किसानहरू स्पष्ट रूपमा बुझ्न थालिसकेका छन्।

नेपाल जलश्रोतमा धनी देश भए पनि, नीति कार्यान्वयन कमजोर हुँदा कृषकको खेत सुक्न पुग्नु विडम्बना हो। बाँकेमा मात्रै होइन, तराईका अन्य जिल्लाहरूमा समेत वर्षा अभावले समस्या गहिरिँदै गएको छ।

असार–साउनलाई धान रोपाइँको मुख्य सिजन मानिन्छ। तर समयमै वर्षा नहुँदा अब यो स्थिति देशको खाद्य सुरक्षामै असर पार्नसक्ने खतराको रूपमा देखा पर्न थालेको छ। कृषि विज्ञहरूले तत्काल समाधान र दीर्घकालीन रणनीति आवश्यक रहेको चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »