पश्चिमका प्रमुख सहर नेपालगञ्जमार्फत बजार विस्तार, २० हजार किसान संलग्न, वार्षिक १.५ अर्बको कारोबार
ग्लोबल डेरी प्रा.लि.ले उत्पादन गरेको बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बिहीबारदेखि बाँके र बर्दियामा बिक्री सुरु गरेको छ। पश्चिम नेपालकाे प्रमुख सहर नेपालगञ्जमार्फत बजार विस्तार गर्दै कम्पनीले आफ्ना उत्पादनको बजारीकरण थालनी गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक जनक न्यौपानेका अनुसार ग्रामीण क्षेत्रबाट सङ्कलित दुधलाई प्रशोधन, विविधिकरण गरी सहरी क्षेत्रमा बिक्री गरेर ग्रामीण अर्थतन्त्रमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याइएको हो।
२०५२ सालदेखि तानसेन, पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको नेतृत्वमा कमल न्यौपाने र जनक न्यौपानेको लगानीमा २०७० साल माघ १९ गते कपिलवस्तुको महाराजगञ्जमा दुध संकलन केन्द्र स्थापना गरी व्यवसाय विस्तार गरिएको थियो।
२०७२ सालमा बुद्धभूमि नगरपालिका-९, इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना गरी ‘बुद्धभूमि’ ब्राण्डमा उत्पादन सुरु गरिएको हो। हालसम्म ८१ वटा संकलन तथा चिस्यान केन्द्रमार्फत दैनिक ४०–५० हजार लिटर दुध सङ्कलन, प्रशोधन, विविधिकरण र बजारीकरण गर्दै आइरहेको छ।
उद्योगले करिब २० हजार किसान परिवारसँग प्रत्यक्ष दुध संकलन गरिरहेको छ भने विभिन्न सहकारी तथा निजी संकलन केन्द्रमार्फत थप दुध खरिद गरिरहेको छ। ३६५ दिन दुध खरिदको ग्यारेन्टी दिइएको छ र समयमा भुक्तानी भइरहेको छ। साथै, कृषकलाई पशु आहार, भ्याक्सिन, औषधोपचार, पशु बीमामा समेत सहयोग गर्दै आइरहेको जानकारी दिइएको छ।
कम्पनीले आन्तरिक बजारसँगै बाह्य मुलुकमा पनि बजारीकरणको प्रयास गरिरहेको छ। “पश्चिम नेपालमा ‘मिल्क होलिडे’ अन्त्य गर्न र दुध बजारको स्थायित्व कायम गर्न कम्पनी क्षमता अभिवृद्धिमा लागिरहेको छ,” प्रबन्ध निर्देशक न्यौपानेले बताए।
सरकारले अरबौं अनुदान वितरण गर्दै आए पनि ग्लोबल डेरीले अहिलेसम्म कुनै सरकारी अनुदान पाउन सकेको छैन। यदि यस्ता उद्योगलाई प्रोत्साहन गरियो भने विदेश पलायन भएका युवाहरू स्वदेशमै रोजगारी र आम्दानीको अवसर पाउने न्यौपानेको धारणा छ।