कोहलपुर प्रहरीको ठूलो सफलता: ७२ घण्टा नपुग्दै आरोपी इन्स्पेक्टर भट्टको फन्दामा

कोहलपुर : नेपाली हरुको महान चाड बडा दशैंको राति करिब १२ः४५ बजेको समयमा बाँकेको ईलाका प्रहरी कार्यलय कोहलपुरमा एउटा फोन आयो। कोहलपुर नगरपालिका वडा नं. ८ स्थित बङ्गला चोकको सडक देखी भित्रपट्टि कच्चि बाटोमा टाउको नभएको अवस्थामा रगत बगिरहेको मानिसको शव फेला परेको सुचना उक्त टेलिफोन मार्फत प्रहरीले पायो। सुचना पाए लगतै इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरिक्षक राजकुमार भट्ट र प्रहरी निरिक्षक हरि भट्टराइको संयुक्त टोलि घट्नास्थल तर्फ लाग्यो र अनुसन्धान सुरु गर्यो। लगतै जिल्ला प्रहरी कार्यालय बाँके बाट प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंको कमाण्डमा प्रहरी र सादा पोशाकको टोली पनी घटनास्थल पुग्यो र कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर पनि झिकाइयो ।

प्रहरी पुग्दा घटनास्थलमा टाउको नभएको , सेतो खरानी रंगको कट्टु र माथिल्लो शरीर नाङ्गो रगताम्य अवस्थामा घोप्टो परेको शव फेला परेको थियो। खोजतलाश र अनुसन्धान गर्दै जाँदा उक्त टाउको नभएको शव स्थानीय ४० वर्षीय चन्द्र बहादुर कामीको भएको पहिचान खुल्यो , तर टाउको भने घटनास्थलमा थिएन। घटनास्थलको बिस्तृत अनुसन्धान गर्दा करिब दुई सय मिटर नजिकै सरस्वती चोकमा एउटा सिसिटिभी क्यामेरा भेटियो।

सिसिटिभी क्यामेराको फुटेज संकलन गरी हेर्दा, सुनसान रातमा एक पुरुषले लेडिज साइकलमा केही सामान बोकेर हिडिरहेको प्रहरीले फेला पार्यो । ती पुरुषबारे खोजी गर्दैजाँदा, प्रहरी त्यस ठाउँबाट करिब पाँच सय मिटर टाढा रहेको अनिता परियारको घरमा पुग्यो।

अनिता परियारको घरको आगनको छेउमा सिसिटिभी फुटेजमा देखिएको उक्त लेडिज साइकल प्रहरीले फेला पार्यो, र साइकलको छेउमा रहेको ढुङ्गामा रगतको दाग पनि भेटियो। प्रहरीले अनिता परियार लगायतको परिवारसंग सोधपुछ सुरु गर्यो , सिसिटिभी फुटेजमा देखिएको पुरुष उनले आफ्नो दाइ नाता पर्ने बताइन र उक्त पुरुष रोल्पाको माडी गाउपालिका वडा नं. ६ का ३० वर्षीय अनिल परियार रहेको खुल्यो।

साइकल र रगतको दाग त्यहाँ फेला परेपछि प्रहरीले टाउको पनि यहाँ कतै हुनसक्ने आशंका गर्यो र २७ गते दिनभर त्यही आसपासमा खोजी गर्यो, तर टाउको फेला परेन।

भोलिपल्ट २८ गते पनि बिहानैदेखि प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा खटिएको टोलीले टाउकोको खोजतलास गर्दा करिब सवा दश बजे मृतक चन्द्र बहादुर कामीको काटिएको टाउको र प्रयोग गरिएको हतियार (हसिँया) अनिता परियारको घर पछाडिको बारीमा रहेको चर्पीको सेफ्टी टंकी भित्र फेला पार्यो।

यता प्रहरी निरिक्षक राजकुमार भट्टको कमाण्डमा एउटा टोली सिसिटिभी फुटेजमा देखिएका अनिल परियारको खोजतलासमा जुटिसकेको थियो। अनुसन्धान गर्दै जाँदा, २९ गते बिहान करिब ८ बजे प्रहरी निरिक्षक राजकुमार भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बाँकेको राप्तिसोनारी गाउँपालिका १ स्थित अघैया–कुसुमखण्डको तिनघारी टोल, भौवा नाका जाने बाटोमा लुकेर बसेको अवस्थामा परियारलाई पक्राउ गर्यो।

अनिल परियारलाई पक्राउ गरिए पनि हत्याको कारण भने अझै खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा विजयादशमीको दिन दिनभरसँगै रहेका अनिल परियार घटनापछि फरार भएका थिए। फरार रहेको आधारमा शङ्का गर्दै अनुसन्धान अगाडि बढाइएको थियो। परियारलाई म्याद थप गरी थप अनुसन्धानका लागि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

हालका लागि डिएसपी भण्डारी केही दिनका लागि बिदामा रहेका छन्। यसैबीच, कोहलपुर इप्रका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा रहेको छ। सोही क्रममा, अब्बल प्रहरी निरीक्षक भट्टले ७२ घण्टाभित्र फरार आरोपीलाई पक्राउ गर्न सफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »